वर्षाका कारण नेपाल–जापान खेल रद्द, नेपाल समूह विजेता

वर्षाका कारण नेपाल–जापान खेल रद्द, नेपाल समूह विजेता

काठमाडौं । २०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र आयोजक जापानबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ ।

वर्षाका कारण निर्धारित समयभन्दा ढिला सुरु भएको खेललाई १५–१५ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित १५ ओभरमा चार विकेट गुमाएर १४९ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप जोराले आक्रामक ब्याटिङ गर्दै ३२ बलमा ५७ रन बनाए । उनले पाँच चौका र तीन छक्का प्रहार गरे । यस्तै, लोकेश बमले २२ बलमा ५२ रनको आक्रामक अर्धशतकीय पारी खेले । उनले छ छक्का र एक चौका प्रहार गरे । आशिफ शेखले २१ रनको योगदान दिए ।

जापानका रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले नेपालका एक–एक विकेट लिए ।

नेपालको इनिङ्स सकिएलगत्तै पुनः भारी वर्षा भएपछि मैदानलाई कभरले ढाकिएको थियो । निरन्तर वर्षाका कारण जापानको इनिङ्स सुरु हुन नसकेपछि खेल नतिजाविहीन घोषणा गरिएको हो ।

यससँगै नेपाल र जापानले एक–एक अंक बाँडेका छन् । नेपालले समूह ‘ए’ मा दुई खेलबाट तीन अंक जोड्दै समूह विजेता बनेर क्वाटरफाइनलमा स्थान बनाएको छ । यही समूहबाट अफगानिस्तान दुई खेलमा दुई अंक जोड्दै उपविजेता बनेको छ ।

क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ भने अफगानिस्तानले भारतको सामना गर्नेछ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!