खेम सेन्चुरीको ‘बाहुन बाजे किन कसेको’ गीत विवादमा, साइबर ब्युरोमा उजुरी

खेम सेन्चुरीको ‘बाहुन बाजे किन कसेको’ गीत विवादमा, साइबर ब्युरोमा उजुरी

काठमाडौँ । लोकगायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’ विवादमा परेको छ। गीतमा बाहुन समुदायलाई होच्याइएको भन्दै केही हिन्दुवादी अभियन्ताले आपत्ति जनाएपछि गीत विवादमा तानिएको हो।

गीतको विषयलाई लिएर साइबर ब्युरोमा समेत उजुरी परेको छ। हिन्दुवादी अभियन्ता सागर थापालगायतले दिएको उजुरीका आधारमा मंगलबार साइबर ब्युरोले गायक सेन्चुरी र उजुरीकर्तासँग छलफल गरेको थियो। तर, छलफल निष्कर्षमा पुग्न नसकेको साइबर ब्युरोका प्रवक्ता एसपी दिलीप गिरीले जानकारी दिए।

उनका अनुसार दुवै पक्षलाई बुधबार पुनः छलफलका लागि बोलाइएको छ। प्रवक्ता गिरीले भने, ‘हिजो दुवै पक्षसँग छलफल भएको थियो। उक्त छलफल निष्कर्षमा पुग्न सकेन। आज फेरि छलफलमा बोलाइएको छ। आज यस विषयमा टुंगो लाग्छ होला।’

गीतमा रहेको ‘खान्छौ कि खान्नौ बङ्गुरको मासु, लौ खाऊ न त सुँगुरको मासु’ भन्ने पंक्तिप्रति हिन्दुवादी अभियन्ताहरूले आपत्ति जनाएको गिरीले बताए। उनीहरूले गीत हटाउन माग गर्दै आएका छन्।

गीत विवादमा आएपछि गायक सेन्चुरीसँग पटक–पटक सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन नसकेको जनाइएको छ।

सेन्चुरीकै शब्द तथा संगीत रहेको ‘बाहुन बाजे किन कसेको’ गीत करिब एक महिनाअघि सार्वजनिक भएको हो। पछिल्लो समय गीत सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा चर्चामा आएपछि विवादसमेत बढेको हो।

लिङ्क सफलतापूर्वक कापि गरियो!