काठमाडौं । दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको व्यावसायिक यात्रुवाहक विमानमा एक पाइलटले नै विमान अपहरण गर्ने प्रयास गरेपछि साउदी अरबमा आपत्कालीन अवतरण गरिएको छ।
इजरायली अधिकारीहरूका अनुसार उडानका क्रममा ती पाइलटले विमानलाई जमिनमा ठोक्काउने प्रयास गरेको आशंका गरिएको छ। पाइलटहरूबीच ककपिटमै हात हालाहाल भएपछि विमानलाई साउदी अरबको ताबुकस्थित प्रिन्स सुल्तान बिन अब्दुलअजीज विमानस्थलमा अवतरण गराइएको हो।
‘द जेरुसेलम पोस्ट’का अनुसार विमानमा रहेका अन्य उडान कर्मचारी तथा इजरायली यात्रुहरूको सहयोगमा ती पाइलटलाई नियन्त्रणमा लिइएको थियो। घटनाका क्रममा विमान करिब ४ हजार मिटर अर्थात् १३ हजार फिट तल झरेको अधिकारीहरूले बताएका छन्।
फ्लाइट एफजेड १०७३ का रूपमा उडिरहेको विमानमा १०० भन्दा बढी इजरायली यात्रु सवार थिए। विमानले सुरुमा सामान्य आपत्कालीन अवस्थाको सङ्केत दिने ‘स्क्वाक कोड ७७००’ र त्यसपछि गैरकानुनी हस्तक्षेप अर्थात् अपहरणको सङ्केत दिने ‘कोड ७५००’ प्रसारण गरेको थियो। पछि विमानले पुनः ७७०० कोड प्रसारण गरेको थियो।
घटनापछि इजरायली वायुसेनाले सम्भावित आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै लडाकु विमानहरू तयारी अवस्थामा राखेको थियो। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि सुरक्षा अधिकारीहरूसँग आपत्कालीन बैठक गरेका थिए।
प्रधानमन्त्री कार्यालयले बैठकपछि जारी गरेको विज्ञप्तिमा अवस्था नियन्त्रणमा रहेको र इजरायली यात्रुहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउन आवश्यक सबै उपाय अपनाइरहेको जनाएको छ।
विमान साउदी अरबमा सुरक्षित रूपमा अवतरण नगरेसम्म इजरायली हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएको थियो। फ्लाईदुबईले पनि उडान एफजेड १०७३ ताबुकमा सुरक्षित रूपमा अवतरण गरेको तथा विमानमा रहेका सबै यात्रु सुरक्षित रहेको पुष्टि गरेको छ।
घटनाका क्रममा एक पाइलटमाथि चक्कु प्रहार भएको बताइएको छ। गम्भीर घाइते भएका ती पाइलटलाई विमानमा रहेका एक इजरायली दन्तचिकित्सकले प्राथमिक उपचार गरेका थिए।
एक इजरायली यात्रुका अनुसार विमान अचानक तल झर्न थालेपछि अगाडि बसेका केही यात्रु ककपिटतर्फ पुगेका थिए। उनीहरूले शङ्कास्पद पाइलटलाई नियन्त्रणमा लिएर ककपिटबाट बाहिर निकालेपछि अन्य पाइलटले विमानको नियन्त्रण सम्हालेका थिए।
घटनाको अनुसन्धानका क्रममा शङ्कास्पद पाइलटको पहिचान तथा पृष्ठभूमिबारे अनुसन्धान भइरहेको छ। प्रारम्भिक विवरणअनुसार उनी ओमानी नागरिक रहेको अनुमान गरिएको छ।
घटनाका कारण इजरायली सेनाका चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल इयाल जमिरले आफ्नो निर्धारित अमेरिका भ्रमणसमेत रद्द गरेका छन्।
फ्लाईदुबईले सेप्टेम्बर ३० मा दुबईबाट बेन–गुरियन विमानस्थलतर्फ उडेको एफजेड १०७३ उडान ताबुकमा सुरक्षित अवतरण गरेको पुष्टि गर्दै यात्रुहरू सुरक्षित रहेको जनाएको छ। एयरलाइन्सले घटनासम्बन्धी विषयमा सम्बन्धित निकायसँग समन्वय गरिरहेको बताएको छ।