काठमाडौं । अमेरिकाको टेनेसी राज्यमा मृत्युदण्डको सजाय पाएकी क्रिस्टा पाइकलाई प्राणघातक इन्जेक्सनमार्फत सजाय कार्यान्वयन गर्ने क्रममा समस्या देखिएको छ। दुई पटक प्राणघातक इन्जेक्सन दिइए पनि उनको मुटुको धड्कन जारी रहेको उनका वकिलहरूले बताएका छन्।
इन्जेक्सन प्रक्रियामा अपेक्षित परिणाम नआएपछि पाइकका वकिलहरूले तत्काल अदालतमा याचिका दायर गर्दै सजाय कार्यान्वयन रोक्न तथा उनलाई आवश्यक उपचार उपलब्ध गराउन माग गरेका थिए।
याचिकामा पाइक बेहोस अवस्थामा रहे पनि उनको मुटु धड्किरहेको र सास फेर्दा घुरेजस्तो आवाज सुनिएको उल्लेख गरिएको छ।
उनका एक वकिलका अनुसार ५० वर्षीया पाइकलाई पेन्टोबार्बिटलको दुई सिरिन्ज दिइएको थियो। त्यसपछि उनलाई उपचारका लागि अस्पताल लगिएको बताइएको छ।
पाइकलाई सन् १९९६ मा १९ वर्षीया कोलिन स्लेमरको हत्यामा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको थियो। हत्या हुँदा पाइक १८ वर्षकी थिइन्।
अभियोजन पक्षका अनुसार पाइक र उनका तत्कालीन प्रेमी टेडारिल शिपले स्लेमरमाथि कुटपिट तथा यातना दिएपछि उनको हत्या गरेका थिए। तीनै जनाको भेट समस्याग्रस्त किशोरकिशोरीका लागि सञ्चालन गरिएको रोजगार तालिम कार्यक्रममा भएको थियो।
स्लेमरकी आमा मार्टिनेजले छोरीको हत्यामा दोषी ठहर भएकी पाइकको सजाय कार्यान्वयन हुनुपर्ने धारणा व्यक्त गरेकी थिइन्। उनले एसोसिएटेड प्रेससँग कुरा गर्दै छोरीले भोगेको पीडा सम्झँदा आफूलाई घटनाको भयावहता अझै महसुस हुने बताएकी छन्।