कांग्रेसमा पदाधिकारी थप्ने तयारी, सहमहामन्त्रीको सङ्ख्या १४ पुर्‍याउने प्रस्ताव

कांग्रेसमा पदाधिकारी थप्ने तयारी, सहमहामन्त्रीको सङ्ख्या १४ पुर्‍याउने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको आन्तरिक व्यवस्थापन सहज बनाउन केन्द्रीय पदाधिकारीको सङ्ख्या बढाउने तयारी थालेको छ।

कांग्रेसको विधान संशोधन मस्यौदा समितिमा पदाधिकारी संरचना विस्तार गर्ने विषयमा छलफल भइरहेको एक पदाधिकारीले जानकारी दिएका छन्।

हाल कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिमा १७ जना पदाधिकारी रहने व्यवस्था छ। प्रस्तावित नयाँ संरचनामा महिला तथा युवालाई नेतृत्वमा थप अवसर दिने उद्देश्यले उपसभापति र सहमहामन्त्रीको सङ्ख्या बढाउने विषयमा छलफल भइरहेको छ।

प्रस्तावित खाकाअनुसार कांग्रेसमा १ देखि २ जना उपसभापति थप्ने तयारी छ। थपिने उपसभापतिमध्ये कम्तीमा एक पद महिलाका लागि सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ।

त्यसैगरी, तीन जना सहमहामन्त्री थप्ने प्रस्ताव अघि बढाइएको छ। प्रस्तावअनुसार थपिने तीनमध्ये एक जना खुलातर्फबाट, एक जना ३५ वर्षमुनिका युवाबाट र अर्का एक जना सम्बन्धित क्षेत्रका विज्ञका रूपमा ‘ल्याटरल इन्ट्री’मार्फत ल्याउने विषयमा छलफल भइरहेको छ।

हाल कांग्रेसमा विभिन्न आठ क्लस्टरबाट ८ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। यसअघि विशेष महाधिवेशनमार्फत थप ३ जना सहमहामन्त्री मनोनयन गर्ने व्यवस्था भएपछि सहमहामन्त्रीको सङ्ख्या ११ पुगेको थियो। नयाँ विधान संशोधन प्रस्ताव पारित भएमा सहमहामन्त्रीको कुल सङ्ख्या १४ पुग्नेछ।

पदाधिकारीको सङ्ख्या बढाउने विषयमा विधान संशोधन मस्यौदा समितिमा अन्तिम चरणको छलफल भइरहेको छ। समितिले तयार पार्ने प्रस्ताव पहिले केन्द्रीय कार्यसमितिमा पेस हुनेछ। केन्द्रीय कार्यसमितिबाट स्वीकृत भएपछि अन्तिम अनुमोदनका लागि आगामी महाधिवेशनमा प्रस्तुत गरिनेछ।

लिङ्क सफलतापूर्वक कापि गरियो!