कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क, दुई एम्बुलेन्स तयारी अवस्थामा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क, दुई एम्बुलेन्स तयारी अवस्थामा

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क सञ्चालनमा ल्याइने भएको छ।

महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार महाधिवेशनस्थल खुलामञ्चको पश्चिमतर्फ पाँचवटा स्टलसहितको हेल्थ डेस्क स्थापना गरिएको छ। डेस्कबाट सामान्य स्वास्थ्य परीक्षण तथा आकस्मिक स्वास्थ्य सेवा प्रदान गरिनेछ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका डा. केसीका अनुसार हेल्थ डेस्क दुई सिफ्टमा सञ्चालन हुनेछ। प्रत्येक सिफ्टमा चिकित्सक, पारामेडिक्स तथा नर्ससहितका स्वास्थ्यकर्मी खटिनेछन्। हेल्थ डेस्कमा रक्तचाप र रक्तशर्करा परीक्षणका साथै सिटामोल, जीवनजल तथा घाउचोटमा प्रयोग हुने औषधिलगायत अत्यावश्यक सामग्री निःशुल्क उपलब्ध गराइनेछ।

प्रतिनिधिलाई तत्काल अस्पताल लैजानुपर्ने अवस्था आएमा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र वसुन्धरास्थित बीपी स्मृति अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ। त्यसका लागि महाधिवेशनस्थलमा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ।

रातिको समयमा स्वास्थ्य सेवा आवश्यक पर्ने प्रतिनिधिका लागि ‘अन कल’ स्वास्थ्यकर्मीको व्यवस्था गरिएको डा. केसीले जानकारी दिए। होटलमा बसेका प्रतिनिधिलाई स्वास्थ्य समस्या देखिएमा होटलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था पनि मिलाइएको उनले बताए।

नेपाल स्वास्थ्यकर्मी संघकी उपमहासचिव शोभा उप्रेती खरेलले हेल्थ डेस्कबाट आयुर्वेदिक र एलोपेथिक दुवै प्रकारका स्वास्थ्य सेवा उपलब्ध हुने जानकारी दिइन्। उनका अनुसार हेल्थ डेस्कमा आवश्यकताअनुसार अत्यावश्यक औषधिसमेत उपलब्ध गराइनेछ।

लिङ्क सफलतापूर्वक कापि गरियो!