काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समितिसहित विभिन्न १५ वटा समिति गठन गरेको छ।
महाधिवेशनका विषयगत समितिबीच समन्वय तथा सहजीकरण गर्न, व्यवस्थापनसम्बन्धी आवश्यक निर्णय लिन र तोकिएको जिम्मेवारीअनुसार समितिहरूले काम गरे–नगरेको अनुगमन गर्न विभिन्न समिति गठन गरिएको कांग्रेसले जनाएको छ।
यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको थियो। सोही निर्णयको निरन्तरतामा महाधिवेशनका लागि विभिन्न विषयगत समिति गठन गरिएको हो।
१५औँ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सभापति गगनकुमार थापा तोकिएका छन्। आर्थिक व्यवस्थापन समितिको संयोजकमा कोषाध्यक्ष उमेश श्रेष्ठ, सूचना, सञ्चार तथा प्रविधि समितिको संयोजकमा प्रवक्ता देवराज चालिसे र सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिको संयोजकमा उदयशमशेर राणालाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, अतिथि स्वागत समितिको संयोजकमा सहमहामन्त्री डा. डिला संग्रौला पन्त र महाधिवेशन समारोहस्थल व्यवस्थापन समितिको संयोजकमा काठमाडौं जिल्ला सभापतिलाई जिम्मेवारी दिइएको छ। प्रदेश तथा स्थानीय तहगत समन्वय समितिको संयोजकमा सहमहामन्त्री बहादुरसिंह लामालाई तोकिएको छ।
ज्येष्ठ महाधिवेशन प्रतिनिधि समन्वय समितिको संयोजकमा सुधीर शिवाकोटी, स्वयंसेवक व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य गणेश लामा, भोजन व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य तिलक रानाभाट र आवास व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य रमेशप्रसाद धमला तोकिएका छन्।
यसैगरी, स्वास्थ्य समितिको संयोजकमा केन्द्रीय सदस्य डा. केदारनरसिंह केसी, यातायात व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य विजयबहादुर स्वाँर तथा सांस्कृतिक–साहित्यिक संयोजन समितिको संयोजकमा केन्द्रीय सदस्य सीता गुरुङलाई जिम्मेवारी दिइएको छ।
कांग्रेसका अनुसार विधान मस्यौदा समितिमा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने र अधिवक्ता प्रमिस खनाललाई थप गरिएको छ।