काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलाई लक्षित गर्दै ३ हजार ५०६ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना सार्वजनिक गरेको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा योजना तयार गरिएको जानकारी दिए।
उनका अनुसार परिचालन हुने प्रहरीमध्ये अधिकांश पोसाकमा र ७० जना सादा पोसाकमा खटिनेछन्। उनीहरूलाई काठमाडौंका विभिन्न क्षेत्रमा ९८ वटा सेक्टरमा विभाजन गरी जिम्मेवारी तोकिएको छ। तालुक कार्यालयबाट थप १९० जना प्रहरी जनशक्ति ल्याइने तथा विभिन्न १४ स्थानमा सहायता कक्ष स्थापना गरिने उनले बताए।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन १६६ वटा मोबाइल तथा भ्यान समेत परिचालन गरिने प्रहरीले जनाएको छ।
त्यस्तै, काठमाडौंका विभिन्न स्थानमा गरी १ हजार २४२ वटा सीसीटीभी जडान गरिएको प्रहरीको भनाइ छ।
प्रहरीले चाडपर्वका समयमा हुन सक्ने हत्या, बलात्कार, मानव बेचबिखन, अपहरण, धम्की, पकेटमारी, चोरी, जुवा, लुटपाट, वैदेशिक मुद्रा ठगी तथा पेय पदार्थमा नशालु पदार्थ मिसाउनेलगायतका गतिविधिलाई सम्भावित सुरक्षा चुनौतीका रूपमा पहिचान गरेको छ।
यी चुनौतीलाई ध्यानमा राख्दै धार्मिक तथा सांस्कृतिक स्थल, परम्परागत मठमन्दिर, खाद्यान्न तथा खसी बजार, सार्वजनिक भिडभाड हुने स्थान, बसपार्क तथा सवारी व्यवस्थापन क्षेत्र, सरकारी तथा निजी कार्यालय, बैंक तथा वित्तीय संस्था, सपिङ मल तथा गरगहना खरिद–बिक्री हुने क्षेत्रलाई सुरक्षा प्राथमिकताका आधारमा वर्गीकरण गरिएको एसपी थापाले बताए।
प्रहरीले आवश्यकता र जोखिमका आधारमा ती क्षेत्रमा जनशक्ति परिचालन गरी चाडपर्वका समयमा सुरक्षा व्यवस्था मजबुत बनाउने जनाएको छ।