सोमबार बजार बन्द रहेकोबारे नियामक निकाय पनि जानकार
सोमबार बजार बन्द रहेकोबारे नियामक निकाय धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालय पनि जानकार छन् । यी सबै निकायले घटना के हो भन्नेबारे आआफ्नो टोलीमार्फत जानकारी लिइसकेका छन् । बजारमा भएको समस्याबारे आफूले जानकारी लिइरहेको धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले जनाए ।
‘नियामक निकायका रूपमा मैले एउटा टोली पठाएर छानबिन गर्न भनेको छु,’ भट्टले भने, ‘बोर्डबाट नेप्सेलाई धितोपत्रको कारोबार रोक्नुपर्ने गरी उत्पन्न विषम परिस्थितिको सम्बन्धमा आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्ता घटनाहरू पुनः दोहोरिन नदिन गर्नुपर्ने सुधारहरूसहितको प्रतिवेदन यही १२ असोजभित्रै पेस गर्न निर्देशन दिइसकिएको छ ।’
तस्बिर : एएफपी
बोर्डले विज्ञप्ति निकालेर ७२ व्यवसायीको सर्भर राखिएको डेटा सेन्टरमा प्राविधिक समस्या आई कारोबार स्थगन गरिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस विषयमा बोर्डले प्राविधिकलगायत समस्या पहिचान गरी कारोबार स्थगन गर्नुपर्ने कारण पहिल्याउन बोर्डका उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली खटाएको थियो ।
समस्या के हो ?
ब्रोकरहरूको प्रणाली राखिएको डेटा हब प्रालिको डेटा सेन्टरमा आइतबार बिहानदेखि र्यान्समवेयर आक्रमणको घटना देखियो । यो समस्या आइतबार र सोमबार ११ बजेसम्म पनि पहिचान र समाधान नभएपछि डेटा हबले सोमबार कारोबार प्रणाली व्यवस्थापन गरिरहेको वाइकोमार्फत ब्रोकरलाई सेयर कारोबार बन्द गर्न आग्रह गर्यो । डेटा हब र वाइकोको आग्रहमा स्टक ब्रोकर एसोसिएसनले नेप्सेलाई लिखित पत्र लेखेर कारोबार स्थगन गर्न आग्रह गर्यो ।
ब्रोकर्स एसोसिएसनको आग्रहमा सोमबार सेयर कारोबार बन्द गरिएको नेप्सेको भनाइ छ । ब्रोकरहरूले डेटा व्यवस्थापन स्थान (डेटा हब प्रालि) मा समस्या आएकाले ७२ वटा ब्रोकरको सिस्टम नचलेको र स्टक ब्रोकरले लिखित चिठी नै पठाएर कारोबार रोक्न गरेकाले सेयर बजार बन्द गरिएको नेप्सेको सूचनामा उल्लेख छ ।
डेटा हब प्रालिमा आइतबार बिहान ४ बजे ह्याक भएको थियो । सेन्टरमा भएको वास्तविक समस्या अझै पत्ता लाग्न सकेको छैन । त्यही कारण ७२ वटा ब्रोकरको सिस्टमले काम नगरेको ब्रोकर बताउँछन् ।
‘ब्रोकरको सिस्टम त चल्थ्यो होला तर डेटा सेन्टरमै समस्या भएपछि थप क्षति हुन सक्ने जोखिम किन लिनु भनेर सल्लाहमै चलाएका छैनौं,’ एक ब्रोकरले भने ।
‘हाम्रो डेटा सेन्टर (डेटा हब प्रालि) बाट प्राप्त आधिकारिक जानकारीअनुसार हाल भइरहेको र्यान्समवेयर आक्रमण/घटनाले टीएमएस, सीडीएससी सम्बन्धित प्रणाली, भुक्तानी गेटव तथा अन्य आपसमा जोडिएका सेवासहितका धेरै प्रणाली तथा सेवा प्रभावित भएका छन् । प्रभावित प्रणालीलाई सावधानीपूर्वक हाल अलग गरेर राखिएको छ,’ ब्रोकरहरूको सिस्टम व्यवस्थापन गर्दै आएको वाइको प्रालिले ब्रोकर्स एसोसिएसनलाई लेखेको पत्रमा भनिएको छ ।
वाइकोका अनुसार डेटा सेन्टर र नेप्सेबीच नेटवर्क कनेक्टिभिटी रहेको हुँदा उक्त घटनाले कारोबार प्रणालीमा साइबर सुरक्षा, सञ्चालन तथा डेटा चोरीसम्बन्धी सम्भावित जोखिम निम्त्याउन सक्ने देखिएको छ ।
पछिल्ला प्राविधिक समस्या
काठमाडौँ —
• १७ फागुन २०८२ मा केही कम्पनीको बन्द मूल्य शून्य देखिएपछि नेप्से सूचक अस्वाभाविक रूपमा ८८५.३२ अंक अर्थात् ३३.३४ प्रतिशत घटेको देखियो । नेप्सेले यसलाई प्राविधिक त्रुटि भन्यो ।
• ८ साउन २०८३ मा कारोबार बन्द भएको करिब १५ मिनेटपछि नेप्से वेबसाइट र कारोबार प्रणाली (टीएमएस) मा सूचक एकै पटक १,००८ अंक अर्थात् करिब ३७ प्रतिशत घटेर नेप्से १ हजार ७ सय १७ अंक देखियो । यो वास्तविक बजार गिरावट नभई डेटा/प्राविधिक त्रुटि थियो ।
• ५ असोज २०८३ मा ७२ वटा ब्रोकरको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा प्राविधिक समस्या आएको भन्दै नेप्सेले यस दिनको सेयर कारोबार नै बन्द गर्यो ।
यी पछिल्ला केही उदाहरण मात्र हुन् । कहिले नेप्से, कहिले ब्रोकर, कहिले कारोबार प्रणाली व्यवस्थापन गरिरहेको कम्पनी वाइको त कहिले डेटा सेन्टरमा प्राविधिक समस्या आएको भन्दै सेयर कारोबार बन्द हुने गरेको छ ।
सेयर बजारमा देखिने यस्ता प्रवृत्तिकै कारण स्थापनाको साढे तीन दशकसम्म पनि पुँजी बजारले फड्को मार्न नसकेको जानकारहरू बताउँछन् । लगानीकर्ताको पनि साढे ४५ खर्बभन्दा बढीको सम्पत्ति जोखिममा रहेको जानकार बताउँछन् ।
लामो समयदेखिको राजनीतिक अस्थिरताको मारमा रहेको सेयर बजारमा जब लगानीकर्ताको उत्साहमा सुधार देखिन थाल्छ, तब ‘प्राविधिक’का नाममा यस्ता समस्या आइरहने उनीहरूको भनाइ छ ।
लगानीकर्ताको विश्वासमा प्रश्न
‘फ्रन्टलाइन’ नियामक निकाय नेप्सेमै समस्याको चाङ रहेका बेला समय–समयमा ब्रोकर, डेटा सेन्टर, कारोबार प्रणाली व्यवस्थापन लगायतमा आउने समस्याले लगानीकर्ता मर्कामा परेको सेयरविज्ञ नीरज गिरीले बताए ।
सुरुदेखि नै सेयर बजारमा दिगो सोच र योजनाअनुसार काम नहुँदा यस्ता समस्या दोहोरिइरहेको उनले जनाए ।
‘पुँजी बजारको विकास र विस्तारमा नेप्सेलगायत सरोकारावाला निकाय संवेदनशील नहुँदा यस्ता समस्या दोहोरिरहन्छन्,’ गिरीले भने, ‘म धितोपत्र बोर्डमा रहँदादेखि नै राम्रो अन्तर्राष्ट्रियस्तरको कारोबार प्रणाली भित्र्याउने भनिए पनि पटक–पटक बजारले समस्या भोगिरहेको छ ।’
कारोबार प्रणाली, डेटा सेन्टरलगायत प्रणाली अरू निकायले व्यवस्थापन गरे पनि यी सबैमा नियन्त्रण वा अन्तिम जिम्मेवार निकाय नेप्से हुनुपर्नेमा नहुँदा समस्या भएको गिरीले बताए ।
यस्ता गतिविधिले सेयर बजारप्रति लगानीकर्ताको विश्वास गुम्दै जान्छ भने लगानीकर्ताको सम्पत्तिको सुरक्षामा पनि जोखिम सिर्जना भएको उनको भनाइ छ ।
सीमित कम्पनीमाथि निर्भरता
सेयर कारोबार सञ्चालन हुने कारोबार प्रणालीमा सीमित कम्पनीको एकाधिकार रहेको र उनीहरूको लापरबाहीले पटक–पटक समस्या आउने गरेको सेयर लगानीकर्ताको गुनासो छ ।
सेयर लगानीकर्ता सुभासचन्द्र ढुंगानाले पनि सेयर बजारको कारोबार प्रणालीमा सीमित कम्पनीको एकाधिकार रहँदा यस्ता समस्या दोहोरिरहने र यसले बजारप्रति लगानीकर्ताको विश्वसनीयता गुम्दै जाने दाबी गरे ।
‘यसै पनि लगानीकर्ता बजारप्रति विश्वस्त हुन सकेका छैनन्,’ उनले भने, ‘त्यसमाथि पटक–पटक आउने यस्ता समस्याले लगानीकर्तामा थप आशंका सिर्जना गर्छ ।’
कारोबार प्रणालीमा समस्या आउने सामान्य भए पनि त्यसको वैकल्पिक व्यवस्था नहुनु र नियामक निकायले त्यसतर्फ सोच्न नसक्नु दुःखद भएको ढुंगानाको भनाइ छ ।
‘सोमबार बजार बन्द भएको सूचना आयो । तर मंगलबार पनि बजार खुल्छ/खुल्दैन भन्नेबारे कसैलाई पनि जानकारी छैन,’ उनले भने, ‘यस्तो अनिश्चितता किन ? यस्तो बजारमा लगानीकर्ताले कसरी आश्वस्त हुने ?’
७२ ब्रोकरको डेटा प्रभावित
हाल नेप्सेमा ९० वटा कम्पनी सूचीकृत छन् । तीमध्ये ७२ कम्पनीको डेटा ‘डेटा हब प्रालि’ले व्यवस्थापन गर्दै आएको छ ।
आइतबार बिहान ४ बजे डेटा सेन्टरमा ह्याकरले ह्याक गरेदेखि ७२ वटा ब्रोकरको सिस्टममा समस्या आएको छ । यही कारण स्टक ब्रोकर्स एसोसिएसनको आग्रहमा सोमबार सेयर कारोबार बन्द गरिएको नेप्सेको भनाइ छ ।
तर अहिलेको समस्या आफूहरूको नभएको ब्रोकर बताउँछन् । कारोबार प्रणाली, डेटा व्यवस्थापनलगायत काम आफूहरूलाई गर्न नदिइएकाले यस्तो अवस्था आएको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले जनाए ।
बजारमा पटक–पटक यस्ता समस्या देखिनुमा सीमित व्यावसायिक घरानाको कब्जामा डेटा सेन्टर, कारोबार प्रणालीलगायत सबै सिस्टम रहनु र उनीहरूले गर्नुपर्ने काम नगर्नु रहेको सिजापतिको भनाइ छ ।
‘जहिले पनि प्राविधिक समस्या भनेर कहिले कसलाई, कहिले कसलाई दोष लगाउने गरिएको छ । तर यसबाट जहिले नि लगानीकर्ता र ब्रोकर मारमा पर्ने गरेका छन्,’ सिजापतिले भने, ‘व्यवस्थापन गर्ने कम्पनीहरूले जिम्मेवार भएर काम नगर्नु, उत्कृष्ट सिस्टम नबनाउनु र ती सिस्टम ब्रोकरलाई व्यवस्थापन गर्न नदिनु यसको मुख्य कारण हो ।’
मंगलबार बजार खुल्छ कि खुल्दैन ?
सोमबार दिनभर बन्द रहेको बजार मंगलबार खुल्छ/खोल्दैन भन्नेबारे नेप्से, धितोपत्र बोर्ड, ब्रोकर लगायतले लगानीकर्तालाई औपचारिक जानकारी दिएका थिएनन् ।
घटनाक्रमको विषय सम्बन्धमा छलफल गर्न सोमबार साँझ नेप्से सञ्चालक समितिको बैठक बसेको थियो ।
बैठकले डेटा हबको समस्या समाधान नभए पनि मंगलबार बजार बन्द नगर्ने सहमति गरेको स्रोतले जनाएको छ ।
‘डेटा हबको समस्या समाधान भए बजार पूरै खुल्छ, नभए बाँकी १८ ब्रोकरमार्फत मात्र भए पनि कारोबार खुला गरिनेछ,’ स्रोतले भन्यो ।
हाल सञ्चालनमा रहेका ९० ब्रोकरमध्ये ७२ वटाको तथ्यांक डेटा हबमा छ । बाँकी १८ वटाको अरू कम्पनीमा छ । अहिले समस्या तिनै ७२ कम्पनीको कारोबारमा हो ।
समस्या नभएका १८ वटा कम्पनीले सोमबार पनि कारोबार खोल्न आग्रह गरे पनि नेप्सेले मानेको थिएन ।
ब्रोकरहरूको डेटा सेन्टर ‘डेटा हब’मा प्राविधिक समस्या आएपछि सम्बन्धित ब्रोकरहरूको आग्रहमा सोमबार बजार बन्द गरिएको हो ।
मंगलबारदेखि सेयर कारोबार नियमित गर्ने सम्भावना रहेको नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले बताए ।
साइबर सुरक्षाको जोखिम
‘यसरी प्रभावित प्रणालीहरू हाल अलग गरिएको घटना र वास्तविक असर तथा दायरा अझै मूल्यांकन भइरहेको अवस्थामा यही परिस्थितिमा बजार कारोबार सत्रलाई निरन्तरता दिँदा थप जोखिम उत्पन्न हुन सक्ने हाम्रो बुझाइ छ,’ वाइकोले भनेको छ ।
आफूहरूको सिस्टम ह्याक अझै रिकभर हुन नसकेको ब्रोकरको सिस्टम म्यानेज गरिरहेको वाइकोलाई डेटा हबले जानकारी गराएको छ ।
उक्त जानकारी वाइकोले गराएकाले सोमबार नेप्सेलाई कारोबार रोक्न आग्रह गरिएको स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सागर ढकालले बताए ।
यज्ञ बञ्जाडे
यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।
