कांग्रेसको देउवा पक्षद्वारा समानान्तर महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

कांग्रेसको देउवा पक्षद्वारा समानान्तर महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु गर्दैछ। संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने तयारी गरिरहेका बेला देउवा पक्षले छुट्टै कार्यतालिकासहित समानान्तर रूपमा अधिवेशन प्रक्रिया अघि बढाएको हो।

देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। उक्त कार्यतालिकाअनुसार असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी छ। सो कार्यतालिकाबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइएको छ।

देउवा पक्षका नेता किरणराज पौडेलका अनुसार ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत खटाइएको छ। साथै विभिन्न जिल्लामा निर्वाचन संयोजकसमेत परिचालन गरिएको उनले जानकारी दिएका छन्।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा महाधिवेशन गर्न नहुने धारणा देउवा पक्षले राख्दै आएको थियो। संस्थापन पक्षले आफ्नो कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढाएपछि देउवा पक्षले पनि छुट्टै कार्यतालिका सार्वजनिक गरी अधिवेशनको तयारी अघि बढाएको हो।

देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिक मान्दै आएको छ। यसै आधारमा उसले संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी नहुने अडान राख्दै छुट्टै प्रक्रिया अघि बढाएको हो।

यसैबीच, देउवा पक्षीय १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउन आवश्यक रहेको बताएका छन्। उनले नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!