कांग्रेसको १५औँ महाधिवेशन : पहिलो दिन ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

कांग्रेसको १५औँ महाधिवेशन : पहिलो दिन ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार देशभरका ३ हजार १९१ वडामा नयाँ नेतृत्व चयन गरेको छ।

पार्टीभित्र आन्तरिक विवाद र समानान्तर गतिविधिको अवस्था देखिएका बेला देउवा पक्षले वडा अधिवेशनमार्फत महाधिवेशन प्रक्रिया औपचारिक रूपमा अघि बढाएको हो।

वडा अधिवेशन सम्पन्न गराउन केन्द्रीय निर्वाचन समितिले ५६ जिल्लामा विशेष निर्वाचन संयोजक तथा ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन अधिकृत खटाएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलका अनुसार पहिलो दिन सातै प्रदेशका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको हो।

प्रदेशगत रूपमा कोशी प्रदेशका ५७७, बागमतीका ५६३, लुम्बिनीका ५५०, सुदूरपश्चिमका ४५६, मधेशका ४०२, गण्डकीका ३८६ र कर्णाली प्रदेशका २५७ वडामा अधिवेशन सम्पन्न भएको छ।

नेपाली कांग्रेसमा देशभर कुल ६ हजार ७४३ वडा रहेका छन्। पहिलो दिन अधिवेशन हुन बाँकी वडाहरूमा शुक्रबार अधिवेशन गर्ने कार्यतालिका रहेको छ।

देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!