देउवा समूहले निर्वाचन आयोगमा बुझायो कांग्रेसको १५औँ महाधिवेशन कार्यतालिका

देउवा समूहले निर्वाचन आयोगमा बुझायो कांग्रेसको १५औँ महाधिवेशन कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले समानान्तर रूपमा आयोजना गर्न लागेको पार्टीको १५औँ महाधिवेशनको विस्तृत कार्यतालिका निर्वाचन आयोगमा पेस गरेको छ।

देउवाले सभापतिको हैसियतमा हस्ताक्षर गरी प्रमुख निर्वाचन आयुक्तलाई सम्बोधन गर्दै महाधिवेशनसम्बन्धी जानकारी तथा अभिलेखीकरणका लागि कार्यतालिकासहितको पत्र आयोगमा बुझाएका हुन्। आयोगले उक्त पत्र असोज १३ गते दर्ता गरी फाइल खडा गरेर अभिलेखमा राख्न सोही दिन तोकादेश गरेको जनाएको छ।

आयोगमा पेस गरिएको कार्यतालिकाअनुसार कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन २०८३ साल मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा आयोजना गर्ने तयारी गरिएको छ।

पत्रमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पाँच वर्षे कार्यकाल विधानबमोजिम थप गरिएको अवधिसहित २०८३ साल मंसिर मसान्तमा समाप्त हुने उल्लेख छ। सोही संवैधानिक तथा वैधानिक व्यवस्थालाई आधार बनाएर वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिका निर्धारण गरिएको जानकारी आयोगलाई गराइएको छ।

कार्यतालिकाअनुसार २०८३ साल असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँपालिका तथा नगरपालिका अधिवेशन र असोज २३ गते प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्ने तय गरिएको छ।

त्यसैगरी कात्तिक १५ गते जिल्ला अधिवेशन तथा मंसिर ४ गते सातै प्रदेशको प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेको छ। अन्तिम चरणमा मंसिर २१, २२ र २३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना गर्ने गरी कार्यक्रम तय गरिएको छ।

देउवा समूहले आयोगमा बुझाएको पत्रमा निर्वाचन आयोगको यसअघिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दामा पुनरावलोकनको अनुमति प्राप्त भइसकेको र उक्त विषय हाल अदालतमा विचाराधीन रहेकोसमेत उल्लेख गरिएको छ।

महाधिवेशन सम्पन्न भएपछि निर्वाचित केन्द्रीय तथा प्रदेश कार्यसमितिको नामावली कानुनबमोजिम अद्यावधिकका लागि पुनः निर्वाचन आयोगमा पेस गरिने जानकारीसमेत पत्रमार्फत गराइएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!