भोटेकोशी–त्रिशूली विपद् विशेष समितिका सभापति पराजुलीले लिए शपथ

भोटेकोशी–त्रिशूली विपद् विशेष समितिका सभापति पराजुलीले लिए शपथ

काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका नवनिर्वाचित सभापति गणेश पराजुलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

बुधबार सभामुख डोलप्रसाद (डीपी) अर्यालले सभापति पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। समितिमा रहेका सबै दलका सदस्यको सर्वसम्मत समर्थनमा सभापति चयन भएका पराजुलीले शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै भोटेकोशी तथा त्रिशूलीमा आएको बाढीको यथार्थ अध्ययन गरी पीडितलाई न्याय दिलाउने गरी समितिले काम गर्ने बताए।

उनले भोटेकोशी–त्रिशूलीमा आएको विपद्लाई ‘हिमाली सुनामी’को संज्ञा दिँदै जलवायु परिवर्तनका कारक, नेपालमा परेको प्रभाव तथा जलवायु न्यायका लागि आवश्यक अन्तर्राष्ट्रिय सहकार्यका विषयमा गम्भीर अध्ययन आवश्यक रहेको बताए।

पराजुलीले विपद्को पूर्वतयारी, उद्धार, राहत, पुनर्स्थापना तथा सीमापार सञ्चारलाई समितिले प्राथमिकतामा राख्ने बताए। हिमालयबाट उत्पन्न हुने विपद्को प्रभाव सीमित भूगोलमा मात्र नरहने भएकाले छिमेकी मुलुकसँगको समन्वय, प्रविधि तथा विज्ञको सहकार्य र सुरक्षित पूर्वाधार निर्माणका विषयमा समेत अध्ययन गरिने उनको भनाइ छ।

स्थानीय सरकारको भूमिकालाई प्रभावकारी बनाउने विषय पनि समितिको अध्ययनको दायरामा रहने उनले बताए। संविधान तथा कानुनले स्थानीय तहलाई दिएको अधिकारअनुसार आवश्यक स्रोतसाधन पुगे/नपुगेको तथा राहत र पुनर्स्थापनामा वडा तहसम्मको समन्वयको अवस्थाबारे अध्ययन गरिने उनले जानकारी दिए।

विशेष समितिलाई कार्यसम्पादनका लागि तीन महिनाको समयसीमा तोकिएको छ। दसैँ–तिहारको बिदा र अधिवेशनको अन्तरालका कारण समयको चाप भए पनि तोकिएको अवधिमै काम सम्पन्न गर्ने पराजुलीले बताए।

उनका अनुसार समितिमा रहेका १५ जना सांसद, कर्मचारी तथा सञ्चारकर्मीको सहकार्यमा विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी प्रतिवेदन तयार गर्ने लक्ष्य राखिएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!