कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमाथिको झोलुङ्गे पुलमा क्षति पुगेपछि आवागमन अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार बिहान महाकाली नदीको बहाव बढेपछि पुलको दोधारा चाँदनीतर्फको भागमा क्षति पुगेको हो।
नदीको बहावका कारण पुलको करिब ५–६ मिटर भाग माथि उठ्नुका साथै एउटा पिल्लरसमेत भत्किएको प्रहरीले जनाएको छ। पुलको बीच भागमा रहेको एउटा पोल महाकाली नदीले बगाएपछि पुलमा क्षति पुगेको हो।
पुलमा क्षति पुगेपछि दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने पैदल आवागमन पूर्ण रूपमा प्रभावित भएको छ।
क्षतिग्रस्त पुलको मर्मत तथा आवागमन सञ्चालनका लागि सम्बन्धित निकायबाट आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।
उक्त झोलुङ्गे पुल नेपालका लामो झोलुङ्गे पुलमध्ये एक हो। यसलाई एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा समेत चिनिन्छ।
