कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध, विभिन्न सडकखण्डमा यातायात प्रभावित

कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध, विभिन्न सडकखण्डमा यातायात प्रभावित

काठमाडौं । निरन्तर वर्षाका कारण धादिङको कृष्णभिरमा ढुंगासहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। गएराति पहिरो खसेपछि काठमाडौं भित्रिने तथा बाहिरिने सवारीसाधन रोकिएका छन्।

वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि सुरक्षाका लागि रातभर पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द गरिएको थियो। आज बिहान ५ बजेदेखि यातायात सञ्चालन गर्ने तयारी गरिए पनि कृष्णभिर क्षेत्रमा पुनः पहिरो खसेपछि सवारीसाधन सञ्चालन हुन सकेको छैन।

धादिङ प्रहरीले पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ। तर, निरन्तर वर्षा भइरहेकाले पहिरो हटाउने काममा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि राजमार्गका विभिन्न स्थानमा काठमाडौं आउने र बाहिरिने सवारीसाधन रोकिएका छन्।

कृष्णभिर क्षेत्रमा गत भदौ १४ गते सडक भासिएको थियो। त्यसपछि उक्त स्थानमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको थियो। अहिले सोही डाइभर्सन क्षेत्रमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पुनः पूर्ण रूपमा अवरुद्ध भएको हो।

पृथ्वी राजमार्गले काठमाडौंलाई धादिङ, चितवन, पोखरालगायत देशका विभिन्न जिल्लासँग जोड्छ। राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन र यात्रु प्रभावित भएका छन्।

निरन्तर वर्षाका कारण अन्य प्रमुख सडकखण्डमा पनि पहिरोको समस्या देखिएको छ। पहिरोका कारण कान्ति लोकपथसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ। कान्ति लोकपथ बन्द हुँदा काठमाडौं–हेटौंडा आवागमन प्रभावित भएको छ।

त्यस्तै, कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडकखण्डमा पनि पहिरो खसेको छ। भोटखोला क्षेत्रमा पहिरो खसेपछि उक्त सडकखण्डमा सवारी आवागमन अवरुद्ध भएको छ।

लगातारको वर्षाका कारण पहाडी क्षेत्रका सडकमा पहिरो तथा ढुंगा खस्ने जोखिम बढेकाले यात्राका क्रममा सावधानी अपनाउन आग्रह गरिएको छ। अवरुद्ध सडकखण्ड खुलाउन सम्बन्धित निकायले प्रयास जारी राखेका छन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!